सभासद्संग नल्लु सरर

चापागाउँतिरको यात्रा सधै अद्भुत भएको छ । मेरा अधिकाश यात्राहरुका संस्मरणहरु शब्दमा नपोखिएसम्म गुम्सरहन्छन् । शब्दहरुमा नल्लु यात्रालाई उजागर गरिरहँदा गोलो अनुहारका भद्र देखिएको कालो चश्मा मनपराउने एक व्यक्तित्व उभिरहेको छ जस्तो महसुस गरिरहेको छु । कांग्रेसका सभासद् रामकृष्ण चित्रकार हुन् उनी । केही साताअघि ललितपुरको इतिटोलमा सहिद सागर सिहंको सालिक अनावरणको समयमा सभासद् चित्रकारले संविधान नबन्ने पक्का भएको बोलिरहँदा मलाई अचम्म लागेको थियो ।

मलाई लाग्दै थियो कक्षा कोठामा पढाइरहेका शिक्षकले विद्यार्थीहरुमा इशारा गरेर तिमीहरु सबै फेल हुन्छ अब भनेर ठोकुवा गरे जस्तै । यस्तो गर्जन र कडा स्वरमा प्रस्तुत भएका सभासद् चित्रकारको गाडीमा सहयात्रा गर्न पाउँदा मनमा धैरे कुरा खेलेको थियो । तर वहाँसँग नल्लु पुगेर फर्किदा मेरा प्रश्नका पोकाहरु हराए । मिजासिलो व्यवहारका धनी र आत्मियतापूर्वक सबैलाई समान दृष्टि राख्ने चित्रकारको जीवन यात्रा पढाई यात्राका किस्साहरु यात्राभर जारी रह्यो । ठूला मान्छे बन्ने धूनमा कानुन र इन्जिनिरिङसमेत पढेका चित्रकार राजनीतिमा कतिखेर होमिए उनैलाई पत्तो नभएको विगतको सम्झनालाई हामीले गहिरो रुपमा सुनिरह्यौं । नल्लुका पुगेपछि वहाँलाई स्वागतको भीड लागेको थियो । वहाँको जीवन कथालाई आत्मियतापूर्वक सुनेर अघि बढिरहँदा मेरा पुराना यात्राहरु समेत चलचित्रको पर्दा जस्तो घुमिरहेको थियो । ललितपुरको चापागाउँ पुग्दा मलाई नल्लु पुग्ने रहरले सधै तानिरहन्थ्यो । तर मौका जुर्न नसकेको एकातिर छ भने अर्कातिर शहरको व्यस्तता । ललितपुरकै हकमा भट्टेडाँडा पुग्दा म निकै रमाएको थिए । त्यही डाँडाबाट वरिपरिका अरु गाउँ/ठाउँ हेर्दे भ्रमणको इच्छालाई दबाएको थिए । निकै वर्षअघि अध्यारो चिर्दे एक मित्रसँग भट्टेडाँडा पुगेको याद छ । तर उही ठाउँ पुग्दा न उनको घर ठम्याउन सके न विगतमा गरिएको यात्राको कुनै डोब नै भेट्टियो ।

माननीय सभासद्संगै एकै बसाईमा तीन डल्ला भात र तरकारीको स्वाद लिइयो । घरहराजस्तो ठाडो भर् याङ चढिरहंदा स्थानीयले सम्हाल्नुस् है भनिरहंदा यस्तैमा हुर्किएको मान्छे भनेर सानो ठाउंमा भोक बिसाउन हामी सबै जम्मा भयौं । आदरपूर्वक थालैमा हात धुनुस् भनेर दिइएको अनुमति अस्विकार गर्दै आफुलाई खाएको थालमा कसैले चुट्छ र  भन्दै चौबिसै घण्टा बगिरहेको सानो खोलातिर ओर्लिएका सभाषद् चित्रकार ग्रामिण उठबसमा अभ्यस्त भइसकेको स्थानीयले ठम्याए ।

नल्लुतिरको यात्राले म हतारिएको थिए । यता फेरि पुग्नुपर्ने गाउँको नामावली मनैतिर छ । यस्तै मौका मिल्यो भने चाँडै पुग्ने चाँजोपाँजो पनि छ । नल्लुमा ओर्लिएपछि एउटा बेग्लै हावाले छोएको आभाष भयो । सबैका आदरपूर्वक मुस्कानले मन आन्नदित बन्न पुग्यो । त्यहाँ एउटा बेग्लै माहौल बनेको थियो । एउटा विद्यालयको स्वर्ण महोत्सवको तयारी रहेको थाहा पाँए । प्रमुख अतिथि बनेका सभासद् चित्रकार कालै चश्मामा मुस्कान दिएर माला/स्वागत स्विकार गरे । हामीपनि सँगै लागेर होला । पहेँला फूलका मालाहरु हाम्रै घाँटीमा समेत लगाइयो । यात्रामा राजधानी दैनिकका संवाददाता सविन शर्मा र सिाचता घिमिरेसँगै थिए । यही मालाबाट आफूलाई स्वागत गरेपनि एउटा बेग्लै आनन्द मनमा खेल्न पुग्यो ।

नल्लु क्षेत्रमा मदिरा उत्पादननै प्रमुख पेशा हो । मदिरा गरेर शहरतिर बेच्नु दैनिकी हो यहाँको । यही पेशाले यहाँका जनता पालिएका छन् । नल्लुको बारेमा मलाई यत्ति थाहा थियो । हुनपनि पेशा आ-आफ्नै हुन्छ पनि । जे जानियो उही गर्न हो काम । अनि काममा बित्छ जीवनको घाम । आखिर जानेकाले विद्यालय खोलेर शिक्षाको विकास गरिरहेका पनि छन् यहाँ । नेपाल सरकारको शिक्षा पहुँचको बलियो प्रयास नपुगेपनि स्थानीय जुटेर सार्वजनिक जग्गामा साचालित विद्यालयको यो स्वर्ण जयन्ती स्वागतयोग्य छ नै । एकछिन कार्यक्रम छोडेर नल्लुको सेरोफेरो बरालिन मन लागेर डाँडातिर उक्लिए । चिसा हावाले स्पर्श गरेर स्वागत गरेको महसुस भयो । अनुहारहरु शान्त र सहजताका मुहारहरु भेट्न पुगेको अनुभूति भयो । यस्ता दृश्यहरु मनमा संग्रहित पार्न खोजिरहे । चियाको तिस्रना मेटाउन पसल पुग्दापनि मदिराकै अधिपत्य भएको देखियो । चिया पिइन ।

प्रमुख अतिथिलाई सम्मानपूर्वक खानाको निम्तो रहेछ । पुरानो ठाडो भर् याङ उक्लिएर सानो घरको भान्छामा खाना राखियो हाम्रो अघि । भोकको सुरमा सबैले मजाले खाए । यत्तिबेलाको सहज बसाँई र मिठो स्वादमा चम्किएको सभासद्को अनुहारलाई बुढी बज्यैले निकैबेर हेर्दे थियो । हामीलाई अठ्यारो लागेको हो की  भनेर घरमुलीले बारबार सोधिरह्यो । यता सभासद् चित्रकारको पनि एउटै जवाफ दोह्रिदै थियो । हामीपनि यस्तैमा हुर्किएका हौं आमा । चिन्ता नलिनुस् कुनै समस्या परेको छैन । आखिरत भोकले होला चाँडै रित्याइयो थाल । हत्तपत आमाले करुवा सार्दे हात धुन अनुमति दिनुभयो । खाएको थालमा चुट्नुहुन्न आमा यो हाम्रो समाजमा चल्दैनु भन्दै उही ठाडो भर् याङ झर्नुभयो सभासद् र सार्वजनिकस्थलमा हात साफ गर्नुभयो । यो दृश्यलाई हेर्नहरुको भीडपनि ज्यादा थियो ।

यही मौका एकिकृत माओवादी र वाइसिएलको इन्चार्जबीच घुलमिलको मौका मिल्यो । नल्लुतिरको यात्रा छोटो समयको भएपनि दर्जन दृश्यहरुले यादगार बनेको छ । मनैभरि उर्जाशील व्यक्तित्वका आदर समेटेर आमाको हातबाट बनेको मिठो खानाको स्वाद कल्पेर फूलको मालाको सुगन्ध बोकेर हामी शहर फर्कियौं । हतारो यात्राले नल्लुसँग नजिक भएको स्मरणहरु खेलिरहेका छन् । सभासद् रामकृष्ण चित्रकारको भ्रमण निम्तोको गुणपनि बिस्रन नसकिने भएको छ । नल्लुसँग भेटघाट र त्यहाँको सालिनताले मनैभरि नमेटिने अद्भूत सम्झनाहरु बगिरहेको छ । जसरी बग्दैछ यात्राको रफ्तार । अस्तु

This entry was posted in म र मेरो कुरा, मेरो लेख and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>